Top Ad unit 728 × 90

Flash News

news;Election;politics

भक्तपुरमा नेमकिपालाई ढाल्ने दाउमा लोकतान्त्रिक र बाम गठबन्धनका उम्मेदवारहरु

भक्तपुर मंसिर १५ –नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आउँदो २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि भक्तपुरमा आफ्नो दलसँग प्रतिस्पर्धा गर्ने कुनै दल नभएको बताउनुभएको छ । अध्यक्ष बिजुक्छेले यसपटक उम्मेदवारी नदिए पनि चर्चामा रहेको भक्तपुर क्षेत्र नं. १ मा नेमकिपाको किल्ला भत्काउन दुई गठबन्धन लागेपछि नेमकिपाका अध्यक्षले यस्तो प्रतिक्रिया दिनुभएको हो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले आफूले उम्मेदवारी दिनु र पार्टीले अरुलाई उम्मेदवारी बनाउनुमा कुनै फरक नपर्ने प्रतिक्रिया दिनुभयो ।नेमकिपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिनुभएका प्रेम सुवालले नेमकिपाको नेमकिपालाई कसैले परास्त गर्न नसक्ने जिकिर गर्नुभयो ।


लोकतान्त्रिक र वाम गठबन्धन विदेशी इशारामा चल्ने उहाँको आरोप छ । देशमा प्रजातन्त्र आएदेखि कांग्रेस, एमाले र माओवादीले आलोपालो सरकार चलाए पनि भक्तपुरको विकास गर्न नसकेको भन्दै सुवालले भन्नुभयो, ‘नेमकिपाले भक्तपुरमा गरेको विकास जस्तै अरु दलले पनि विकास गरेको भए देश धेरै समृद्धि भइसक्थ्यो, नेमकिपाले सांसद कोषबाट ल्याएको बजेट गाउँ गाउँको विकासमा लगाएको छ ।’ बलियो आधार किल्लाको रुपमा रहेको नेमकिपालाई आगामी २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा परास्त गर्न लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन ठूलै कसरतमा जुटेको छ । २०४८ सालदेखिको संसदीय एवं संविधानसभा चुनावमा भारी मतान्तरका साथ नेमकिपाले विजयी हासिल गर्दै आएको यस क्षेत्रमा यसपटक नेमकिपालाई परास्त गर्ने दुबै गठबन्धनका नेताले उदघोष गरेका छन् ।  यस क्षेत्रमा नेमकिपा एक्लैले उम्मेदवारी दिएको छ भने लोकतान्त्रिक गठबन्धनमा कांग्रेसले राप्रपा (प्रजातान्त्रिक)सँग र वामगठबन्धनमा माओवादी केन्द्रले एमालेको साथ लिएर प्रतिस्पर्धामा उत्रिएको छ ।

क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फ लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका बाबुराजा जोशीले नेमकिपाले २०३८ सालदेखि एकछत्र राज गरेर बनाएको किल्ला यसपल्टको निर्वाचनमा भत्किने दाबी गर्नुभयो ।  जोशीले भन्नुभयो ‘नेमकिपाले भक्तपुर नगरपालिका भन्दा बाहिर आफ्नो क्षेत्र देख्दै देखेन, पर्यटकसँग उठाएको करोडौँ रकमले नगर भित्रको पर्यटकीय क्षेत्रमा मात्रै विकास गरेको छ, क्षेत्र नं. १ को अरु क्षेत्रमा केही नगरेकाले त्यहाँका जनताको भोट यसपल्ट काँग्रेसलाई आउँछ, यसपल्ट कांग्रेसले बिजुक्छेजीको किल्ला ढाल्छ ।” क्षेत्र नं. १ अन्तर्गत पर्ने ताथली, सुडाल, वागेश्वरी, नगरकोट, छालिङ्ग, चाँगु, दुवाकोट, झौखेलसँगै भक्तपुर नगरपालिका भित्रका पनि धेरै ठाउँलाई नेमकिपाले फर्केर पनि नहेरेको उहाँको आरोप छ । उहाँले नगरकोटदेखि चाँगुनारायणसम्मलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने र राष्ट्रिय बजेट ल्याएर यस क्षेत्रको विकासमा लाग्ने अठोटका साथ आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

यता वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिनुभएका माओवादी केन्द्रका मिलन सुवालको पनि उस्तै आरोप छ । सुवालले भन्नुभयो, ‘यस क्षेत्रमा वर्षौदेखि नेमकिपाले आफ्नो बर्चस्व कायम गर्दै आएको छ, तथापि जनताको भावना अनुसार काम गर्न नसकेको नेमकिपालाई २१ गतेको चुनावमा जनताले मतबाटै परास्त गरेर वाम गठबन्धनलाई विजयी गराउनेछन् । उहाँले वाम गठबन्धनले संयुक्त प्रतिवद्धतापत्र जारी गर्दै व्यवस्थित सडक, गाउँ गाउँमा यातायातको पहुँच, व्यवस्थित सहर निर्माण, समृद्ध भक्तपुरको निर्माण, निःशुल्क शिक्षा, स्वास्थ्य, युवा रोजगारी, गाउँ गाउँमा उद्योग, पर्यटनको विकास, खानेपानी, ढल, प्रत्येक नगरमा सुविधा सम्पन्न अस्पताल स्थापनाको एजेण्डा लिएर आएको उल्लेख गर्नुभयो । उहाँले नेमकिपा र नेपाली कांग्रेससँग एमालेलाई कमजोर नठान्न आग्रह गर्दै स्थानीय तहको जस्तै परिणाम आउने बताउनुभयो ।

स्थानीय चुनावको मतलाई प्रतिनिधिसभा र प्रदेशसभाअनुसार विश्लेषण गर्दा भक्तपुरमा वाम गठबन्धन, मजदुर किसान पार्टी र लोकतान्त्रिक गठबन्धनबीच नै तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । भक्तपुरमा दुईवटा प्रतिनिधिसभा क्षेत्र र चारवटा प्रदेशसभा क्षेत्र छन् । स्थानीय चुनावमा भक्तपुर क्षेत्र नम्बर १ मा ६६ हजार ८१० मत खसेको थियो । त्यसमध्ये क्षेत्र नम्बर १ मा मजदुर किसान पार्टीको मत ३० हजार १७२ थियो भने लोकतान्त्रिक गठबन्धनले १९ हजार ५३६ र वाम गठबन्धनले १६ हजार ५६९ मत पाएका थिए । भक्तपुर र चा“गुनारायण नगरपालिका १ नम्बर क्षेत्रमा पर्छ भने मध्यपुरथिमि र सुर्यविनायक नगरपालिका २ नम्बर क्षेत्रमा रहेका छन् । साभार: उज्यालो अनलाईनबाट
भक्तपुरमा नेमकिपालाई ढाल्ने दाउमा लोकतान्त्रिक र बाम गठबन्धनका उम्मेदवारहरु Reviewed by admin on December 01, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.