एमाले हेडक्वाटरमा हरियो बत्ती बोले पछि बल्ल राजी भईन राष्ट्रपति भण्डारी अध्यादेश जारी गर्न
पुस १४, काठमाडौं: एकल संक्रमणीय निर्वाचन प्रणालीसहितको राष्ट्रियसभासम्बन्धी अध्यादेश पारित गरिनु संविधानविपरीत हुने बताउँदै आएको नेकपा एमाले अन्ततः गलेको छ । अब राष्ट्रपतिले यो अध्यादेश पारित गरे पनि आफूहरुलाई आपत्ति नहुने सन्देश एमाले नेताले शीतलनिवास पुर्याएका छन् । एमाले हेडक्वार्टरमा ‘हरियो बत्ती’ बलेको संकेत पाएपछि राष्ट्रपति विद्यादेवी भण्डारी अध्यादेश पारित गर्न तयार भएकी छिन् । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतमले मुख खोलेपछि शीर्ष नेतृत्व आफ्नो अडानबाट पछि हटेका हुन् ।
बैठकमा गौतमले अध्यादेशमाथि अडान लिइरहने हो भने परिस्थिति बिगि्रने छोटो विश्लेषण सुनाएका थिए । एमालेले अडान नछाड्ने हो भने कांग्रेसले सत्ता लम्याउँदै जाने र सरकार गठनको प्रक्रिया पनि अवरुद्ध भइरहने गौतमको विश्लेषण थियो । बैठकमा केपी ओलीले एकल संक्रमणीय मत प्रणालीका विषयमा पार्टीको अडान यथावत नै रहेको बताएका थिए । तर, हाम्रो अडान रहँदा रहँदै पनि राष्ट्रपतिले अध्यादेश जारी गरिन् भने राष्ट्राध्यक्षले गरेको निर्णय मान्नैपर्ने संकेत ओलीले दिएका थिए ।
त्यसो त ओलीले अध्यादेशमाथिको अडान छाड्ने संकेत स्थायी कमिटीको बैठकमा वामदेवले मुख खोल्नुअगाडि नै माओवादी अध्यक्ष प्रचण्डलाई दिइसकेका थिए । र, यो संकेत माओवादी अध्यक्ष प्रचण्डले बिहानै शीतलनिवास पुर्याइसकेका थिए ।
एमालेको अडान यथावत : विहीबार बैठकमा सहभागी एक एमाले नेताले भने- ‘अध्यक्षले अध्यादेशबारे पार्टीको अडान यथावतै छ भन्नुभएको छ ।’ नेता शंकर पोखरेलले पनि अध्यादेशबारे एमालेको अडान यथावत नै रहेको बताए । तर, एमाले नेताहरुले ‘फेस सेभिङ’ का लागि आफूहरुको अडान यथावत छ भने पनि राष्ट्रपतिलाई संकेत दिएपछि यो विवाद सुल्झिएकाे विश्लेषण गर्न थालिएको छ । माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेपछि अध्यादेशसम्बन्धी प्रकरण सुल्झिएकाे माओवादी स्रोतको दाबी छ । यसवीचमा राष्ट्रपतिले प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका नेताहरुसँग पनि परामर्श गरेकी थिइन् ।
साथै उनले राजपा र संघीय फोरमका नेताहरुसँग पनि छलफल गरेकी थिइन् । पछिल्लोपटक विहीबार माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेर अध्यादेश जारी गर्दा फरक नपर्ने केपी ओलीको सन्देश सुनाएका थिए । एमाले नेता शंकर पोखरेल भने अध्यादेशमाथिकाे एमाले अडान यथावत रहेकाे बताउँछन् एमाले नेताहरुको भनाइ सुन्दा के बुझिन्छ भने एकल संक्रमणीय हुनुहुँदैन भन्ने सैद्धान्तिक मान्यतामा एमाले यथावत छ । तर, उसले आफ्नो विमति हुँदाहुँदै राजनीतिको गाँठो फुकाउन लचकता अपनाएको मात्रै हो ।
अब राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशमा देखिएको विवादबाट एमाले पछि हटेपछि सरकार गठन र राष्ट्रियसभा निर्वाचनको मार्गप्रशस्त हुने अनुमान गर्न सकिन्छ । निर्वाचन आयोगले विहीबार नै राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताको आह्वान गरिसकेको छ ।
आयोगले १५ दिनभित्र दल दर्ता गर्न आह्वान गरेको छ । निर्वाचन आयोगले प्रदेशसभा तर्फका समानुपातिक सांसदहरुको नामावली आजै घोषणा गर्दैछ भने अध्यादेश जारी भयो भने अब प्रतिनिधिसभातर्फका समानुपातिक सांसदको पनि नतिजा निकाल्न विस्तारै बाटो खुल्नेछ । संविधानतः राष्ट्रिय सभाको चुनाव भएपछि मात्रै प्रतिनिधिसभाका समानुपातिक सांसदको नतिजा आयोगले सार्वजनिक गर्न मिल्ने एकथरि कानूनविदहरुले तर्क गर्दै आएका छन् । अर्काथरि विज्ञले भने राष्ट्रियसभाविनै प्रतिनिधिसभाको नतिजा आउन सक्ने तर्क गर्दै आएका छन् । स्रोत: अनलाइन खबर
एमाले हेडक्वाटरमा हरियो बत्ती बोले पछि बल्ल राजी भईन राष्ट्रपति भण्डारी अध्यादेश जारी गर्न
Reviewed by admin
on
December 28, 2017
Rating:
Reviewed by admin
on
December 28, 2017
Rating:

No comments: