Top Ad unit 728 × 90

Flash News

news;Election;politics

काठमाडौँको मेयर शाक्यले किन गर्दैछन् जन गुनासोको वेवास्ता | गुनासो लिएर गएका जनताहरु घण्टौँ सम्म पर्खिँदा पनि भेट्शान पाउँदैनन्



काठमाडौँ - बालाजु हाइटका हरिशरण बिष्ट जग्गा प्लानिङ गर्ने व्यक्तिले सार्वजनिक जग्गा मिचेको गुनासो लिएर बिहीबार काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई भेट्न महानगरपालिका मुख्यालयमा दिनभर कुरे । मेयरका सचिवालयका कर्मचारीले उनलाई प्रतीक्षा कक्षमा राखे ।   मेयर भेट्न उनकै कार्यकक्षमा कुरिरहेका बालाजुका हरिशरण बिष्टलगायत सेवाग्राही ।  हातमा फाइल लिएका उनी मेयरलाई भेटेर आफ्नो गुनासो सुनाउन हतारमा थिए । धेरै बेर कुर्दा पनि नभेट्टाइएपछि उनी जबर्जस्ती कार्यकक्षमै छिरे । तर, मेयर कार्यकक्षमा थिएनन् ।
बिष्टले मेयरलाई भेटेरै गुनासो राख्न चाहन्थे ।  बिष्ट मात्र होइन, मेयर भेट्न ५ जना वडाध्यक्षसमेत कुरिरहेका थिए । महानगर परिषदका सदस्य दीपक राई पनि कुराइमै थिए । मेयर गोप्य कोठामै । मेयरलाई भेट्न नसकेको भन्दै रिसाउन थालेपछि राईले पनि आफ्नो पीडा सुनाए ।

‘मैले पनि चौथो दिनको प्रयासपछि भेट्न कुरिराछु । धेर्य गर्नुस् ।’  गोप्य कोठामा भेटघाटमा व्यस्त भएपछि बिष्ट आक्रोशित हुँदै भन्थे, ‘म ढोका खोलेर जाउँ ?’ शाक्यका पीए राजेश्वर स्थापित थामथुम पार्थे, ‘एकछिन पख्नुस् न । मेयर साप आफै बाहिर आउनुहुन्छ ।’ सर्वसाधारण कार्यकक्ष र प्रतीक्षा कक्षमा मेयरलाई कुरेको कुर्‍यै । अर्कातिर पार्टीका कार्यकर्ता र पीएको चिनजान भएका व्यक्तिलाई गोप्य कोठाको ढोकाबाट छिराएको छिरायै । मेयर शाक्यलाई भेट्न बौद्ध, तीनचुलीबाट जाङमु शेर्पासहित तीन जना पनि कार्यकक्षमै छिरे ।
उनीहरू पनि सार्वजनिक बाटो बन्द गरेर निर्माण गरिएको पर्खाल हटाइदिने माग लिएर मेयर भेट्न आएका रहेछन् । मेयरकै कक्षमा बालाजुबाट सार्वजनिक जग्गा संरक्षण गरिदिन आएका बिष्ट र शेर्पाको समूहको भेट भयो ।

संवाददाता पनि महानगर क्षेत्रको खुला क्षेत्र र सार्वजनिक जग्गा संरक्षणमा महानगरको योजना बुझ्न पुगेको थियो । मंसिर १४ देखि उनलाई भेट्ने प्रयास थालेको तर फोन उठाएनन् । आफ्नो परिचय खुलाएर म्यासेज पठाएपछि बल्ल कलब्याक आयो । सार्वजनिक जग्गा र खुला क्षेत्रबारे धारणा बुझ्न खोजेको भन्नासाथ शाक्य चुनावी प्रचारमा रहेको भन्दै पन्छिए । त्यसयता फोन उठाउनै छाडे । एक सातासम्म फोन नउठाएपछि भेट्न गएकोमा सचिवालयका कर्मचारीले कहिले व्यस्त हुनुहुन्छ त कहिले हुनुहुन्न भन्दै फर्काइदिए ।  त्यसयता फोन र म्यासेज गरिरहे पनि मेयर शाक्यसँग सम्पर्क हुन सकेको थिएन । बिहीबार पनि परिचय र भेट्न चाहेको विषय खुलाएर सन्देश पठाउँदा र फोन गर्दा कुनै ‘रेस्पोन्स’ भएन । एमाले अध्यक्ष केपी ओलीका प्रेस संयोजक चेतन अधिकारीलाई गुहार्दा उनले पनि मेयरले फोन नै नउठाएको सुनाए ।

साढे एक बजे शाक्यको सचिवालय पुग्दा त्यहाँ एक जना महिला कुरिरहेकी थिइन् । बौद्धबाट वडा अध्यक्षसहित एक हुल थपिए । प्रतीक्षा कक्षमा कुर्ने कुरेको कुर्‍यै थिए । पीए स्थापितले चाहेका व्यक्तिलाई कहिले गोप्य ढोकाबाट त कहिले कार्यकक्षको ढोका हुँदै मेयरसँग भेट गराइरहेका थिए ।  यो संवाददाताको अनुरोधपछि ३ बजेतिर कार्यकक्षमा छिराइयो । कार्यकक्ष वडा अध्यक्षहरू र अरू सर्वसाधारणले भरिएको थियो । मेयर गोप्य कोठामै व्यस्त थिए । त्यसको निकै बेरपछि दुई महिला आए । स्थापितले उनीहरूलाई गोप्यतिर पठाए । मेयर भेटेर फर्केपछि ती महिलालाई स्थापितले बधाई दिए ।  बालाजुका बिष्ट, बौद्धकी शेर्पा र यो संवाददाताले जस्तै महानगरवासीले मेयर शाक्यसँग फोनमा त परै, सहजै भेट्न पनि सक्ने सम्भावना छैन । शाक्यलाई भेट्न पाइने आसमा उनकै कार्यकक्षमा कुरिरहेका महानगरवासी भन्थे, ‘पहिला भोट चाहियो भन्दै हामीलाई पाँचपल्ट नमस्कार गरे । अहिले भेटेर नमस्कार गर्न र गुनासो राख्नसमेत पाइएन ।’  शाक्यले स्थानीय निर्वाचनअघि गरेको प्रतिबद्धता नम्बर ६८ मा ‘हेलो मेयर क्विक रेस्पोन्स’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । महानगरका हरेक कार्यालयमा स्मार्ट उजुरी डेक्स राख्ने, सार्वजनिक सुनुवाइ गर्ने र महानगरवासीको गुनासो सुन्न हेलो मेयर क्विक रेस्पोन्स कार्यक्रम सञ्चालन गर्ने योजना उनीसँगै गोप्य कोठामा सीमित भएका छन् । 

‘भोट हालेको मान्छेलाई नै भेट्न गाह्रो, हामी आतंकवादी हो र ?’ बालाजुबाट आएका बिष्टले भने, ‘दुइटा ढोका रहेछ । अरूचाहिँ छिरिरहने, हामीले चाहिँ कुरिरहनुपर्ने ।’ उनले बिहीबार अबेर मेयरलाई भेटेर जग्गा संरक्षणको आग्रह गरेका रहेछन् । शुक्रबार फेरि बोलाएका थिए । उनी पुन: गए, तर भेट्न सकेनन् ।  यो संवाददाताले पनि साढे २ घण्टा कुर्दा पनि भेट पाएन ।  काठमाडौंका सडक जताततै जाम छ । सार्वजनिक सवारीमा यात्रा गर्न लाइन बस्नुपर्ने बाध्यता सुरु भएको छ । बेलुका सार्वजनिक यातायात पाउनै मुस्किल छ । तारले जेलिएर सडक नै कुरूप छ । फोहरको समस्या उस्तै । सडकमा जताततै खाल्डाखुल्डी । 

शाक्यले चुनावअघि सय दिन भित्र एक सय एक काम गर्ने प्रतिबद्धता सार्वजनिक गरेका थिए । सार्वजनिक क्षेत्रमा वाइफाई जडानदेखि भाडामा बस्नेलाई नागरिकमैत्री आचारसंहिता लागू गर्नेसम्मका आश्वासन दिए । महानगरलाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन ई–गभर्नेन्स सिस्टम सुरु गर्ने, महानगरका महत्त्वपूर्ण स्थानलाई फ्री वाइफाई जोन बनाउने, साइकल सिटी महानगरको कार्ययोजना बनाउने, सम्पदा क्षेत्रको विकास र प्रवद्र्धनका लागि विशेष योजना बनाउने, पब्लिक सर्भिस सेन्टर बनाउने, बचत स्मार्ट कार्ड व्यवस्था गर्ने, खाल्डाखुल्डी पुर्ने, विशेष प्रविधिको प्रयोग गरी धूलो र खाडलरहित सडक निर्माण गर्नेलगायत उनका प्रतिबद्धता थिए ।

निर्वाचित भएको एक महिनाभित्र पूरा गर्ने भनिएका यीमध्ये एउटै काम हुन सकेनन् अहिलेसम्म । नो ट्राफिक जाम, सम्पूर्ण ट्राफिक लाइट मर्मत गरी सुचारु गर्ने, सडक बाटोमा थुपारिएका निर्माण सामग्री हटाउने, सुपथ मूल्यको पसल खोल्ने, सार्वजनिक सुनुवाइ गर्ने, स्मार्ट कार पार्किङ बनाउने, विशेष स्थानमा भेइकल फ्री जोन घोषणा गर्ने पनि शाक्यकै प्रतिबद्धता हो ।

धूवाँधूलो न्यूनीकरण गरी नो मास्क सिटीको अभियान गर्ने नारासमेत उनले चुनावका बेला घरघरमा बाँडे । महानगरका सरकारी र सार्वजनिक ठाउँलाई पर्खालविहीनका रूपमा विकास गर्ने, घर निर्माण सम्पन्न प्रमाणपत्र एक महिनाभित्र प्रदान गर्ने, छाडा जीवजन्तु तथा फोहोरमैलालगायत समस्या तत्काल समाधान गर्ने पनि शाक्यको एक दिनभित्र सक्ने प्रतिबद्धता थियो । उनी निर्वाचित भएको ६ महिना भइसक्दा पनि यो कामको थालनी हुन सकेको छैन । समाचार‌: कान्तिपुर बाट
काठमाडौँको मेयर शाक्यले किन गर्दैछन् जन गुनासोको वेवास्ता | गुनासो लिएर गएका जनताहरु घण्टौँ सम्म पर्खिँदा पनि भेट्शान पाउँदैनन् Reviewed by admin on December 22, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.