Top Ad unit 728 × 90

Flash News

news;Election;politics

अँक गणितमा को अगाडि छ? काँग्रेसमा सँसदीय दलको नेता चयनका लागि लविङ जारी


काठमाडौं, फागुन १८: कांग्रेसमा संसदीय दलको नेता चयनका लागि चुनाव नजिकिँदै गर्दा नेताहरुको भेटघाट र छलफल बाक्लिँदै गएको छ ।  सहमतिबाटै नेता चयन गर्ने कि चुनावमार्फत गर्ने भन्ने बहस एकातिर छ भने अर्काेतिर कसलाई जिताउने भनेर गणितीय जोड घटाउसमेत भैरहेको छ ।

उम्मेदवारी दर्ता गर्न झण्डै ४८ घण्टा मात्र समय बाँकी रहेको अवस्थामा नेताहरुले दौडधुप तीव्र बनाएका छन् । पार्टी सभापति शेरबहादुर देउवा, पूर्व महामन्त्री प्रकाशमान सिंह र महामन्त्री डा. शशांक कोइराला संसदीय दलको नेता बन्न ‘पावर एक्सरसाईज’ गरिरहेका छन् । गुट, उपगुटबाटमाथि उठ्न नसकेको कांग्रेसमा यतिबेला आ–आफ्नै पक्षमा तीव्र लबिङ भइरहेको छ ।  पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता ‘म नै हुँ’ भनेर घोषणा गरिसक्नु भएको छ । पार्टी सभापति र गणितीय हिसाबले पनि बलियो रहेका देउवाले फेरि संसदीय दलको नेतामा दावी गर्नुलाई कतिपय नेताहरुले स्वभाविक भनेका छन् भने कतिले दम्भ देखाए भनेका छन् ।

देउवाकै नेतृत्वमा पहिलो पार्टी दोस्रोमा खुम्चनु परेको भन्दै नैतिक हिसाबले देउवाले दावी गर्न छोड्नुपर्ने मत पनि बलियो छ । पार्टीको नेता नभई गुटको मात्र नेता बनेको आरोप पनि उहाँमाथि छ । तसर्थ देउवाको विकल्प खोजिनुपर्ने माग कांग्रेसभित्र उठेको छ ।   कांग्रेसका नेता चन्द्र भण्डारीले ०५१ सालमा कांग्रेसले चुनाव हार्दा गिरिजाप्रसाद कोइरालाले पद छाडेको नजिर उल्लेख गर्दै देउवाले अरु नेतालाई मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो । उहाँले देउवाको दावी अस्वभाविक नभए पनि प्रजातान्त्रिक मूल्य, मान्यता र पार्टीले विगतमा गरेको अभ्यास अनुसार चल्नुपर्ने बताउनुभयो ।

सधैँ एउटै व्यक्ति शक्तिमा बसिरहने हो भने अन्य नेताको राजनीतिक यात्रा नै संकटमा पर्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । चुनावमा व्यहोरेको हारको समीक्षा गर्दै आफ्नोलाई हैन राम्रोलाई अघि सार्नुपर्नेमा उहाँको सुझाव छ ।    केन्द्रदेखि सातै प्रदेशमा कांग्रेस प्रतिपक्षमा बस्ने भएपछि सरकारमा जाने सम्भावना छैन । यस्तो अवस्थमा देउवाको प्रधानमन्त्री बन्ने सम्भावना कम रहेकाले पनि अन्यलाई माग प्रशस्त गर्नुपर्ने माग बढ्दै गएको छ । देउवा गुटकै केही नेताले महामन्त्री डा. शशांक कोइरालालाई अगाडि सार्नु पर्ने बताएका छन् र त्यही योजना अनुसार काम गरिरहेको चर्चा छ । कोइरालाले पनि सर्वसम्मत भए नेता बन्न तयार रहेको बताइसक्नु भएको छ ।  बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता सिंहले देउवाको विकल्प खोजिनु पर्ने भन्दै उम्मेदवारी दिने घोषणा गरिसक्नु भएको छ । गणितीय हिसाबले कमजोर देखिएका सिंह आफ्नो जित निश्चित हुने दावी गर्नुहुन्छ । उहाँले कुनै पनि हालतमा आफू चुनाव लड्ने दोहोर्‍याइ रहनु भएको छ ।

चुनावी मैदामा उत्रेका देउवा र सिंहलाई फुटेर हैन जुटेर नेता चयन गर्नुपर्छ भन्ने सन्देश दिन महामन्त्री शशांक कोइरालाले बुधबार लन्च मिटिङको आयोजना गर्नुभयो । तर दुवै नेताले आफ्नो पूर्व अडानबाट पछि नहट्ने संकेत गरेका छन् । संभवतः दुई नेताबीच चुनावी प्रतिस्पर्धा हुनेछ । कांग्रेसमा संसदीय दलको चुनाव २१ गते हुदैछ । 

अँकगणितमा को अगाडि ?
राष्ट्रियसभाका १३ र प्रतिनिधिसभाका ६३ गरी कांग्रेसको कुल ७६ सिट रहेको छ । त्यसमध्ये पौडेल पक्षको ३१/३२, कृष्ण सिटौला पक्षका ४ र अन्य ४० र ४१ सिट देउवा पक्षका रहेका छन् । गणितको हिसावले देउवा नै संसदीय दलको नेता बन्ने आंकलन गरिएको छ । तर मतदान नभएसम्म यो हिसाबमा तलमाथि हुन सक्ने सम्भावना पनि उत्तिकै छ । 
अँक गणितमा को अगाडि छ? काँग्रेसमा सँसदीय दलको नेता चयनका लागि लविङ जारी Reviewed by admin on March 02, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.