"७ प्रश्न" नेपाली काङ्ग्रेसका गुरु घिमिरेलाई | नेपाली काङ्ग्रेसको विविध बिषयमा
काठमाडौं, फागुन – स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेस दोस्रो पार्टी भयो । कांग्रेसको राम्रो प्रभाव रहेका कतिपय निर्वाचन क्षेत्रमा समेत उसले हार व्यहोर्नु पर्याे । कांग्रेसको नेतृत्व तह कमजोर हुँदा पार्टीले पराजय भोग्नु परेको भन्दै पार्टीका युवा नेताले यसको विरोध गरे । पार्टीमा लोकप्रिय युवा नेता गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गुरु घिमिरेलगायत नेताले विशेष महाधिवेशनको समेत माग गरेका छन् । विशेष महाधिवेशनको माग गर्ने युवा नेतामध्येका एक गुरु घिमिरेसँग उज्यालो अनलाइनका लागि लक्ष्मण शर्माले कुराकानी गर्नुभएको छ ।
घिमिरेजी, नेपाली कांग्रेसको नेतृत्वले तपार्इँहरुको माग त सुनेन नि ?नेपाली कांग्रेसको नेतृत्वमा भएको स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावले ऐतिहासिक राजनीतिक परिवर्तनलाई संस्थागत गर्न भूमिका महत्वपूर्ण रह्यो । तर, चुनावमा नेपाली कांग्रेसले अनपेक्षित हार व्यहाेर्न बाध्य भएपछि हामीले नेतृत्वलाई चुनावी हारको गम्भीर समिक्षा गर्नुपर्छ भन्यौं । देशभरीका नेता तथा कार्यकर्ताबाट हामीले शुभेच्छा पनि पायौं । तर नेपाली कांग्रेसको नेतृत्व पक्षले यसलाई गम्भिरतापूर्वक लिएन । अझै पनि हामीले भन्दै आएका छौं, पार्टी नेतृत्वले हारको जिम्मेवारी लिनुपर्छ ।
तपाईले पार्टीका नेता तथा कार्यकर्ताको शुभेच्छाको कुरा गर्दा तपाईंहरुलाई कांग्रेसका नेताले साथ नदिएको कुरा त भर्खरै कांग्रेसको संसदीय नेताको चुनावले देखायो नि ?
यसलाई यस्तो अर्थमा लिनु हुँदैन । हामीले त पार्टी अहिले जटिल अवस्थामा रहेको अवस्थामा चुनावमा जानै हुँदैन भनेका थियौं । सभापतिले पनि यो कुरालाई बुझ्नुपथ्यो त्यसो हुन सकेन । पार्टी जटिल अवस्थामा रहेको अवस्थामा आपसमा लडेर कमजोर हुनुभन्दा मिलेर गएको भए राम्रो हुने थियो । पार्टी हारेको अवस्थामा पदका लागि पार्टीभित्रै प्रतिस्पर्धा हुनु राम्रो कुरा थिएन । यसमा दुईवटा विकल्प थियो । पहिलो पार्टी सभापतिले सबै पदाधिकारीसँग सर्वसम्मत रुपमा आफूलाई संसदीय दलको नेता बनाउनको लागि आग्रह गर्नुपर्थ्याे । पार्टीको संसदीय दलको शीर्ष तहमा रहेर काम गर्ने इच्छा मेरो छ, म पार्टीलाई पुरानै अवस्थामा लैजानको लागि भरपुर प्रयास गर्छु भनेर पार्टीका सबैलाई मिलाउन सक्नुपर्थ्याे । यदि त्यसो हुन नसके पार्टीको अभिभावकका हिसाबले उहाँले स–सम्मान पार्टीका अन्य नेतालाई संसदीय दलको नेतामा चयन गर्नुपर्थ्याे । तर त्यसो हुन सकेन । संसदीय दलको नेताको चुनाव अगाडि नै हामीलाई के थाहा थियो भने नतिजा सभापतिकै पक्षमा जान्छ भन्ने ।किनभने चुनावमा टिकट बाँड्ने पनि उहाँहरु नै हो । समानुपातिक सांसद छान्ने पनि उहाँहरु नै हो । चुनावी परिणाम उहाँको पक्षमा जाने कुरा त निश्चित थियो ।
नेतृत्व परिवर्तनको नै माग गर्नुभएको थियो, हारको विषयमा पनि पार्टीभित्र छलफल भएन नि ?हामीले तत्कालै पार्टी नेतृत्व परिवर्तन हुनुपर्छ भनेर कहिल्यै भनेनौ । हामी प्रजातन्त्रमा विश्वास गर्छाैँ । नेतृत्व परिवर्तनको लागि पनि प्रजातान्त्रिक तरिकाले नै हुने हो । अहिले बाटोबाट नै नेतृत्व परिवर्तन हुने पनि होइन । विधि प्रकृयाले सबै हुन्छ, त्यसका लागि हामीले चौधौं महाधिवेशन कुर्नै पर्छ । तर अहिलेको तरिकाले चाहिँ हामी अगाडि बढ्न सक्दैनौ । अहिलेको नेतृत्व शेरबहादुर देउवा मात्र होइन, रामचन्द्र पौडेल मात्र पनि होइन, जो लामो समयसम्म पार्टीमा रहेर योगदान गर्नुभयो यो पुस्ताले के बुझ्नुपर्छ भने अब हाम्रो नेतृत्व सङक्रमणकालीन हो, अब हामीले बिस्तारै नेतृत्व हस्तान्तरण गर्नुपर्छ । आउँदो चौधौं महाधिवेशनमा अगाडि आउन खोजेको नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।
तर नेतृत्वले त तपाईँहरुलाई जिम्मेवारी दिन मानेको छैन नि ?
यदि नेतृत्वको कुरा सही रहेछ भने फेरि यही टोली नै नेतृत्वमा आउँछ । हाम्रो कुरा सही रहेछ भने नयाँ पुस्ता नेतृत्वमा आउँछ । कांग्रेसलाई पहिलाको कांग्रेस बनाउनका लागि अहिलेको नेतृतवले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।
कांग्रेसमा परिवर्तन चाहिएको हो भने त तपाईंहरुले आम कार्यकर्तालाई हामी सही छौ भनेर बुझाउन सक्नुपर्याे नि ?परिवर्तनको आवश्यकता त सारा कार्यकर्ताले महशुस गरिसकेका छन् । हामीले त चुनावी नतिजा पछि कार्यकर्तामा आएको निराशा हटाउनका लागि महत्वपूर्ण काम गरिसकेका छौ । त्यो कुरा नेतृत्वले पनि बुझ्नुपर्याे । नेपाली कांग्रेसको नेतृत्वमा भएको स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा हामी हारेपछि हाम्रा आम कार्यकर्तामा निकै निराश छाएको थियो । नेपाली कांग्रेसलाई नयाँ ढंगले अगाडि बढाउनु पर्ने आम शुभेच्छुकको चाहना रहेको थियो । आम कार्यक्रताको भावनालाई प्रतिनिधित्व गर्दै हामीले पार्टीभित्र पुनर्जीवनको अभियान चलाएका हौं ।
पार्टीमा तपाईँहरुको आन्तरिक संघर्षलाई कमजोर बनाउन विश्वप्रकाश शर्मालाई नेतृत्वले प्रवक्ता बनाएको हो ?पदको वितरणले यी सबै कुरा रोकिँदैनन् । विश्वप्रकाशजी एकदमै होनहार ब्यक्ति हुनुहुन्छ । उहाँको नियुक्तिलाई हामीले सकारात्मक रुपमा लिएका छाैँ । किनभने उहाँ जस्तो व्यक्तिले अवसर पाउँदा उहाँको क्षमता र क्रियाशिलताको फाइदा समग्र पार्टी र कार्यकर्ताले प्राप्त गर्दछ । तर हामीले जुन अभियान चलाएका छौं यसको अर्थ हामीलाई पार्टीको अमूख पदमा पुर्याउँ भन्ने होइन । पार्टीलाई पुनर्जीवन दिउँ भन्ने हाम्रो अभियान हो । पार्टी एकता नै हाम्रो प्रमुख उद्देश्य हो ।
अब तपाईँहरु के गर्नुहुन्छ ?
हामी निरन्तर रुपमा पार्टीलाई पुनर्जीवन दिने अभियानमा छाैं । यो अभियानलाई सातवटै प्रदेशका शुभेच्छुकका बीचमा लैजान्छाैं र छलफल गर्छौं । समय भयो भने यसलाई हामीले गाउँपालिका र नगरपालिकाको तहसम्म लगेर पनि छलफल गर्छौं । यो अभियानलाई पार्टीको केन्द्रीय समिति बैठक र कार्यसमितीको बैठकमा पनि छलफलमा लैजान्छौं । स्रोत: http://ujyaaloonline.com/news/95097/Guru-Ghimire/
"७ प्रश्न" नेपाली काङ्ग्रेसका गुरु घिमिरेलाई | नेपाली काङ्ग्रेसको विविध बिषयमा
Reviewed by admin
on
March 12, 2018
Rating:
Reviewed by admin
on
March 12, 2018
Rating:

No comments: