Top Ad unit 728 × 90

Flash News

news;Election;politics

माओवादीसँग एकीकरण नहुँदै, दुइ चिरामा विभक्त हुनै लाग्यो एमाले। अब के होला?


काठमाडौं – राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर नेकपा एमाले दुई कित्तामा विभाजित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रातिसम्म चलेको स्थायी कमिटी बैठकमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने वा नदोहोर्‍याउने भन्ने विषयमा नेताहरुबीच निकै बेर विवाद भयो।   करिब सात घन्टासम्म चलेको बैठकको अन्त्यमा राष्ट्रपतिका आकांक्षी रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले दाबी छाडेपछि राष्ट्रपतिमा भण्डारीलाई दोहोर्‍याउने निर्णय भएको थियो।

राष्ट्रपतिमा विद्यादेवी भण्डारीको उम्मेदवारीलाई समर्थन गर्ने सर्वसम्मत निर्णय भएको छ,’ एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘एमालेभित्र धेरै जना राष्ट्रपति बन्न योग्य र आकांक्षी रहनुभएकाले लामो समयसम्म छलफल भयो ।’  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको जन्मदिनको केक काटेर साँझ ६ बजे सुरु भएको बैठक सकेर एमालेका नेताहरु बालुवाटारबाट बाहिरिँदा रातको १ बजेको थियो।

दोस्रो तहका नेताहरु कसलाई राष्ट्रपति बनाउने भनेर विभाजित भए पनि शीर्ष नेताहरुले यस विषयमा आफ्नो धारणा स्पष्टसँग राखेका थिएनन्।   पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्षको कार्यशैली ठिक नभएको भन्दै आलोचना गरेका थिए । बैठकमा प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको समेत आलोचना भएको थियो ।  महत्वपूर्ण निर्णय गर्नुपर्दा अन्तिम समयमा मात्रै बैठक बोलाउने, पहिलो अजेन्डा केही पनि नभन्ने र पार्टी विधिअनुसार नचलेको भन्दै अध्यक्ष ओलीको आलोचना भएको थियो।

 ‘संसदीय दलको बैठकबारे जानकारीसमेत ढिलो गरियो । अन्य विषयमा निर्वाचन समिति गठन हुन्थ्यो । संसदीय दलमा त्यो पनि भएन,’ उपमहासचिव घनश्याम भुसाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘संसदीय दलका नेतामा उम्मेदवारी दिने तयारी थियो।’   फागुन ३ गते दिउँसो भएको बैठक सुरु हुन लाग्दा मात्रै खबर भएको भुसालले बताए । राष्ट्रपतिबाट बिहान प्रधानमन्त्री नियुक्त भएका ओलीलाई दिउँसो एमाले संसदीय दलको नेता सर्वसम्मत रुपमा चुनेको थियो।   बैठकमा पार्टीको कार्यशैलीप्रति आलोचना गर्दै उपमहासचिव भुसालले नोट अफ डिसेन्ट लेख्ने बताए।  ‘बेलुकी माइन्युट भएन ।

पार्टी जुन रुपमा सञ्चालन भएको छ, त्यसप्रति मेरो असहमति छ । मेरो नोट अफ डिसेन्ट आउने बताइसकेको छु,’ भुसालले नागरिकसँग भने । मंगलबार राति अबेरसम्म बैठक भएकाले बैठकको माइन्युट हुन सकेको थिएन।   बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भण्डारीमाथि राष्ट्रपति कार्यालयबाट गुट चलाइरहेको आरोप लगाएकी थिइन् । शाक्यले भण्डारीलाई दोस्रोपटक उम्मेदवार बनाउन नहुने तर्क गरेकी थिइन्।   राष्ट्रपतिले मुख्यमन्त्री, मन्त्री, सांसद मात्रै नभएर मेयरदेखि क्याम्पसमा समेत आफ्नो मानिसका लागि भागबन्डा खोजेको आरोप शाक्यको थियो। 

‘भण्डारीले शीतल निवासबाट गुट चलाइरहनुभएको छ । क्याम्पसका कमिटीका समेत आफ्ना मानिस राख्न खोज्नुभएको छ,’ शाक्यलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रदेश नम्बर तीनका संसदीय दलका नेता बन्न नदिन सक्रिय भएर लाग्नुभयो । राष्ट्रपतिका रुपमा निष्पक्ष भूमिका खेल्न सक्नुभएन । त्यसैले उहाँले दोहोर्‍याउनु हुँदैन।’   प्रदेश ३ को संगठन कमिटीका संयोजकसमेत रहेकी शाक्य हेटौंडा नगरपालिकाका पूर्वमेयर डोरमणि पौडेलसँग संसदीय दलको चुनावमा पराजित भएकी थिइन्।   संसदीय दलको चुनाव भएलगत्तैको स्थायी कमिटी बैठकमा पनि शाक्यले आफूलाई हराउन राष्ट्रपति भण्डारीले प्रदेशसभाका सांसदहरुलाई फोन गरेर पौडेलका लागि मत मागेको बताएकी थिइन्। 

 मंगलबार साँझ भएको बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराईले राष्ट्रपति भण्डारीको कार्यशैलीप्रति प्रश्न उठाउँदै दोहोर्‍याउन नहुने तर्क गरेका थिए।   बैठकमा उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य शंकर पोखरेलसहितका नेताहरुले भण्डारीका पक्षमा धारणा राखेका थिए।   उनीहरुले भण्डारी संक्रमणकालीमा राष्ट्रपति भएकाले थप एक कार्यकाल पूरै चलाउन दिनुपर्ने तर्क गरेका थिए।  बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी सञ्चालनका विषयमा आलोचना गरे पनि राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा मौन रहे ।

त्यसैगरी उपाध्यक्ष गौतम पनि चुप रहे।   बैठकमा अंकगणितले साथ नदिने देखपछि खनालले राष्ट्रपतिमाथि आफ्नो दाबीबाट पछि हटेका थिए । त्यसपछि भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय भएको थियो।   बैठकमा विवाद बढ्दै गएपछि सचिव गोकर्ण विष्टले राष्ट्रपति उम्मेदवार छनोटको विषयलाई विवाद नबढाउन भन्दै ओली, खनाल र नेपालबीच सहमति गर्न प्रस्ताव गरेका थिए।    स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले पनि घुमाउरो ढंगले भण्डारी नभए आफू पनि राष्ट्रपति पदका उम्मेदवार बन्ने बताएका थिए। नागरिक समाचारबाट।
माओवादीसँग एकीकरण नहुँदै, दुइ चिरामा विभक्त हुनै लाग्यो एमाले। अब के होला? Reviewed by admin on March 08, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.