मधुमेह के हो? लक्षण,जटिलता, उपचार र घरेलु समाधान
![]() |
| तस्वीरमा मधुमेहले शरिरको कुन कुन भागमा असर पर्छ भनेर देखाइएको छ |
मधुमेह परिचय मधुमेहलाई अङ्ग्रेजीमा डायबिटिज, डायबिटिज मिलाइटस वा डायबिडिज मलाइटस भनिन्छ भने नेपालीमा चिनीरोग भनेर पनि चिनिन्छ। मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगहरूलाई सामूहिक रूपमा अङ्ग्रेजीमा डायबिटिज मिलाइटस भन्ने गरिन्छ। रगतमा चिनीको मात्रा बढी भएपछि बारम्बार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन्। उपचार गरेन भने मधुमेहले धेरै जटिलताहरू निम्त्याउन सक्छ। छोटो अवधिका लागि देखिने कडा खालका जटिलताहरू 'डायबेटिक केटोएसिडोसिस' र 'नन्केटोटिक हाइपरोस्मोलार कोमा' हुन् भने लामो अवधिसम्म रहने जटिलताहरूमा मुटु तथा रक्तनलीका रोगहरू (कार्डियोभास्कुलर डिजिजेज), स्ट्रोक, मिर्गौलाको खराबी, खुट्टामा हुने अल्सर तथा आँखामा खराबी आउने जस्ता समस्याहरू पर्दछन्। मधुमेह पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा उत्पन्न हुने समस्या हो। मधुमेहलाई मुख्यतया तीन प्रकारमा बाँडिएको छ:
१) टाइप वान डायबिटिज (पहिलो प्रकारको मधुमेह): यो मानिसको पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेका कारण देखिने समस्या हो। यसलाई पहिला "इन्सुलिनमा आधारित डायबिटिज मिलाइटस" वा "अपरिपक्व मधुमेह" भनेर चिनिन्थ्यो। के कारणले गर्दा पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन भन्ने तथ्य हालसम्म पत्ता लागेको छैन।
२) टाइप टू डायबिटिज (दोस्रो प्रकारको मधुमेह): यो इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो। यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन्। रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिन सक्छ। यसलाई पहिला "इन्सुलिनमा आधारित नहुने डायबिटिज मिलाइटस" वा "परिपक्व हुन लागेको मधुमेह" भनेर चिनिन्थ्यो। अत्याधिक तौल तथा अपर्याप्त शारीरिक व्यायाम टाइप टू डायबिटिजका प्रमुख कारकहरू हुन्।
३) गर्भावस्थामा हुने मधुमेह: तेस्रो मुख्य प्रकारको मधुमेह हो। यस्तो मधुमेह गर्भवती महिलामा पहिला कहिल्यै नभएको भए पनि रगतमा चिनीको मात्रा बढेर अचानक देखा पर्ने गर्दछ।
मधुमेहबाट बच्न तथा यसको उपचारको लागि स्वास्थ्यकर भोजन खाने, शारीरिक व्यायाम गर्ने, शरीरको तौल सामान्य राख्ने तथा सुर्तीजन्य पदार्थहरू नखाने गर्नु पर्छ। मधुमेहका रोगीहरूले रक्तचाप नियन्त्रणमा राख्नु तथा खुट्टाहरूको हेरविचार गर्नु आवस्यक हुन्छ। टाइप वान डायबिटिजलाई (पहिलो प्रकारको मधुमेह) इन्सुलिनको सुई लगाएर उपचार गर्नु पर्छ। टाइप टू डायबिटिजको (दोस्रो प्रकारको मधुमेह) उपचार अन्य औषधिहरूको साथमा इन्सुलिन दिएर वा नदिइकन गर्ने गरिन्छ। इन्सुलिन तथा केही मुखबाट खुवाइने औषधिहरूले रगतमा हुने चिनीको मात्रा घटाउन सक्छन्। मोटोपन भएका तथा टाइप टू डायबिटिज (दोस्रो प्रकारको मधुमेह) लागेका व्यक्तिहरूमा तौल घटाउने सर्जरी पनि कहिलेकाहिँ लाभदायक हुने गरेको छ। गर्भावस्थामा हुने मधुमेह साधारणतया बच्चा जन्माइसकेपछि हराएर जाने गर्दछ।
मधुमेहका लक्षण तथा चिह्नहरू:
मधुमेहका मुख्य लक्षण तथा चिह्नहरू उपचार नगरिएका मधुमेहका रोगीहरूमा साधारणतया तौल घट्ने, धेरै पटक पिसाब लाग्ने (पोलियुरिया), धेरै तिर्खा लाग्ने (पोलिडिप्सिया) तथा धेरै भोक लाग्ने (पोलिफेइजिया) जस्ता लक्षणहरू देखिन्छन्। टाइप वान डायबिटिजमा (पहिलो प्रकारको मधुमेह) लक्षणहरू छिट्टै (हप्ता वा महिना) देखा पर्छन् तर टाइप टू डायबिटिज (पहिलो प्रकारको मधुमेह) लागेको बेलामा लक्षणहरू बिस्तारै तथा थोरै मात्र देखिने वा नदेखिने हुन सक्छ। मधुमेहका विशेष लक्षण नभए पनि केही अन्य लक्षणहरूले पनि यो रोग लागेको जनाउ दिन सक्छन्।
आँखा धमिलो देख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, काटेका घाऊहरू ढिलो निको हुने र छाला चिलाउने आदि यसका थप लक्षणहरू हुन्। यदि रगतमा ग्लुकोजको मात्रा लामो समयसम्म बढी भएमा आँखाको लेन्समा पनि ग्लुकोज जम्मा भएर यसको आकार बढ्न जान्छ र आँखाको दृष्टि परिवर्तन हुन्छ। मधुमेह लागेको बेलामा शरीरका केही विशेष भागमा खटिराहरू देखिन सक्छन्। यस्ता खटिराहरूलाई अङ्ग्रेजीमा डाइबिटिक डर्माड्रोम्स भनेर चिनिन्छ।
मधुमेहका कारण हुने अाकस्मिक समस्याहरू
पहिलो तथा दोस्रो प्रकारको मधुमेह लागेका प्राय मानिसहरूमा रगतमा चिनीको मात्रा कम हुने समस्या पनि देखिने गर्दछ। धेरैजसो अवस्थाहरू मन्द खालका हुने हुनाले यसलाई गम्भीर स्वास्थ्य समस्याको रूपमा लिइँदैन।
मन्द खालका अवस्थाहरूमा आत्तिने, अप्ठेरो महशुस हुने, धेरै पसिना आउने, शरीर काप्ने तथा खाना बढी रुच्ने हुन्छ भने गम्भीर मधुमेह लागेका मानिसहरूमा अलमल हुने, व्यवहार परिवर्तन हुने, मुर्छा पर्ने (सिजर), बेहोस हुने तथा कहिलेकाहिँ (दुर्लभ) स्थायी रूपमा मस्तिस्कमा क्षति हुने वा मृत्यु हुने जस्ता समस्याहरू देखिन सक्छ।
मन्द खालको मधुमेह लागेका बेलामा रगतमा चिनीको अभाव भएमा धेरै गुलिया खानेकुरा खाएर वा चिनीको मात्रा बढी भएका पेयपदार्थहरू पिएर घरमै उपचार गर्न सकिन्छ।
गम्भीर खालको अवस्थामा बिरामी बेहोस हुन सक्ने हुनाले नसाबाट ग्लुकोज दिएर वा ग्लुकागन हर्मोनको सुई लगाएर उपचार गर्नु पर्छ।
मधुमेहका केही रोगीहरू (विशेष गरी पहिलो प्रकारको मधुमेहमा) पटक-पटक डाइबिटिक केटोएसिडोसिस देखापर्न सक्छ। डाइबिटिक केटोएसिडोसिस भन्नाले शरीरमा हुने रासायनिक प्रतिक्रियाहरूमा गडबडी आएर वाकवाक लाग्ने, वान्ता हुने, पेट दुख्ने, सास फेर्दा एसिटोनको गन्ध आउने, गहिरो सास फेर्ने (कस्मल ब्रिदिङ) तथा गम्भीर अवस्थाहरूमा रोगीहरू अर्धचेत हुने गर्दछन्।
हाइपरओस्मोलर नन्केटोटिक स्टेट मधुमेहका रोगीहरूमा बिरलै देखा पर्ने अवस्था हो। प्रायजसो दोस्रो प्रकारको मधुमेहमा देखिने यो अवस्था जलवियोजनका कारणले हुने गर्दछ।
जटिलताहरू
सबै प्रकारका मधुमेहले लामो अवधिका जटिलता हुने जोखिम बढाउँछन्। साधारणतया यस्ता जटिलताहरू धेरै वर्षपछि (१०-२० वर्ष) विकसित हुने गर्दछन् तर रोग लागेर पनि समयमै रोग पहिचान हुन नसकेका रोगीहरूमा जटिलता नै पहिलो लक्षणको रूपमा देखा पर्न सक्छ। मधुमेहको मुख्य पछिसम्म रहने जटिलता रक्तनलीहरूको क्षतिसँग सम्बन्धित हुन्छ। मधुमेहले मुटु तथा रक्तनलीका रोगहरू लाग्ने जोखिमलाई दुईगुणा बनाउँछ। यो रोगबाट हुने ७५% मृत्यु कोरोनरी आर्टरी(मुटु नशा सम्बन्धि) डिजिजका कारणले हुने गर्दछ।
मधुमेहको उपचार
मधुमेहको उपचार सम्भव छैन । यो रोगलागिसकेपछि रोगीको आयु बढाउने अर्थात् यो रोगको व्यवस्थापन गर्ने विकल्प मात्र बाँकी रहन्छ । मधुमेहको व्यवस्थापन भनेकै रगतमा भएको चिनिको मात्रा घटाउनु हो र रक्तकोशमा क्षति पुराउने अन्य तत्वको निवारण गर्नु हो । जसको लागि निम्न उपाय अपनाउन सकिन्छः
१. इन्सुलिनको मात्रा यथावत राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पतालमा उपचार गरी खोपमार्फत नियमित इन्सुलिन लिने
२. रक्तचाप नियन्त्रण गर्ने
३. खानामा विशेष ध्यान पुराउने , बढि कार्वोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने
४. धुम्रपान र मध्यपान त्याग्ने
५. बढि चिल्लो युक्त पदार्थको सेवन नगर्ने
६. सन्तुलित र नियमित भोजन लिने , नियमित व्यायाम गर्ने ।
मधुमेह कम गर्न घरेलु औषधि प्रयोग
खाद्य पदार्थकै रूपमा प्रयोग गरिने वस्तुद्वारा पनि चिकित्सा गर्न सकिन्छ । घरेलु तरिकाहरु यसप्रकार छन्:
१्) दि मधुमेह वंशानुगत छ र शरीर मोटो पनि छ भने निमको पातलाई थिचेर २ चम्चा रस बिहान खालीपेटमा दैनिक ४-५ महिनासम्म खाने ।
२) तितेकरेलालाई खानाको रूपमा सधैं प्रयोग गर्ने ।
३) तिते करेलाको पातलाई थिचेर २ चम्चा बिहान खाली पेटमा खाने यदि पेटमा वायु बनेको छ भने सानो केराउको गेडा जति हिङ फुराएर रसमा मिलाई खाने ।
४) अंकुरित चनालाई दिनमा २ पटक काँचै र रोटीतरकारी पकाएर खानाले राम्रो गर्दछ । यो पौस्टिक पनि छ ।
५) लसुन १ पिस (कली-केसरा) बिहान खाली पेटमा खाने ।
६) १० पिस सफा बेलपत्र पिसेर कल्क बनाई पानीसँग खाने ।
७) हर्रो २५ ग्राम, बर्रो २५ ग्राम, अमला २५ ग्राम, जिरा २५ ग्राम, कुटकी २५ ग्राम, चिराइतो २५ ग्राम, सुठो २५ ग्राम, तेजपात ५० ग्राम, गुर्जो ५० ग्राम, मेथी १०० ग्राम, जामुनको भित्रको कडा भाग (गुठली) १०० ग्राम, आँपको बियाँभित्रको गुदी १०० ग्राम खाने ।
८) माथि उल्लिखित द्रव्यको अलग अलग चूर्ण गरी एक साथ मिलाई १-१ चम्चा निम पत्ताको रस, करेला पत्र स्वरस, गुर्जो पत्र स्वरससँग बिहान बेलुकी खाली पेटमा खानाले अत्यन्त फाइदा गर्दछ ।
९) उपर्युक्त चूर्ण खानलाई स्वरस (थिचेर चिरेर निकालेको रस) नमिले पानीसँग मात्र पनि खान सकिन्छ । सबै मिलाउन नसकेमा एक द्रव्यमा मेथी बिज चूर्ण, तिते करेलाको तरकारी, पत्र स्वरस, कुटकी चूर्ण, तिते करेलाको तरकारी, पत्र स्वरस, कुटकी चूर्ण, चिराइतो चूर्ण, निम्ब बिज चूर्ण कुनै एक मात्र भए पनि माथि उल्लिखित स्वरस, पानीसँग खाने गर्नाले मधुमेहका रोगीमा अत्यन्त फाइदा गर्दछ । हर्रो ५० ग्राम, वर्रो ५० ग्राम, अमला ५० ग्राम लिई अलग अलग चूर्ण बनाई एउटा बट्टामा राख्ने । १-२ चम्चा सुत्ने समयमा खानाले शरीर स्वास्थ राख्नमा पद्दत पु-याउँछ ।
१०) सकभर दैनिक प्रातः भ्रमण गर्ने र रात्रिमा सम्पूर्ण शरीर मालिस गर्ने । यदि शरीर दुख्ने भएमा सातामा १–२ दिन वाष्प स्नान गर्ने ।
विश्व तथ्याङ्कमा मधुमेह रोग
एक अनुमानित तथ्याङ्क अनुसार सन् २०१५ मा विश्वभर ४१ करोड ५० लाख मानिसलाई मधुमेह रोग लागेको थियो। जसमध्ये करीब ९०% लाई टाइप टू डायबेटिज (दोस्रो प्रकारको मधुमेह) लागेको थियो। यो सङ्ख्या विश्वभरका वयस्कहरूको जनसङ्ख्याको ८.३% हो। मधुमेह रोग लाग्ने दर महिला र पुरुषमा बराबर हुन्छ मधुमेहका कारण सन् २०१२ देखि २०१५ सम्म प्रत्येक वर्ष १५ लाखदेखि ५० लाख मानिसको मृत्यु भएको अनुमान गरिएको थियो। मधुमेहले मानिसको मृत्यु हुने सम्भावनालाई दोब्बर बनाउँछ। सन् २०३५ सम्ममा विश्वभर मधुमेहका रोगीहरूको सङ्ख्या करीब ५९ करोड २० लाख पुग्ने अनुमान गरिएको छ। सन् २०१४ मा मात्रै विश्वभर करीब ६१ करोड २० लाख अमेरिकी डलर मधुमेहका लागि खर्च गरिएको अनुमान गरिन्छ। अर्को तथ्याङ्क अनुसार सन् २०१२ मा संयुक्त राज्य अमेरिकामा मात्रै करीब २४ करोड ५० लाख अमेरिकी डलर मधुमेहका लागि खर्च गरिएको थियो।
समयमै रोग जाँच गरेर मधुमेहको पहिचान गरौँ। मधुमेहले जटिलता निम्त्याउनु अघि नै पहिचान गरेर कम गरौँ। यो एक मोटोपन जस्तै सामान्य रोग सम्झेर अस्पतालामा जाँच गर्न जान नडराउनुहोस्। बेलैमा थाहा पाएसी मधुमेह कम गर्न सजिलो हुन्छ। यो सामग्री साथि भाई सबैमा सेयर गर्नुहोस्।
मधुमेह के हो? लक्षण,जटिलता, उपचार र घरेलु समाधान
Reviewed by admin
on
November 28, 2017
Rating:
Reviewed by admin
on
November 28, 2017
Rating:

No comments: